Frequently Asked Questions
इ–पास (इ-टोकन) भनेको के हो ? यसले के काम गर्छ ?
इ-पास भनेको बागमती प्रदेश अन्तरगतका यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयबाट प्रदान गरिने एक प्रकारको विशेष पास हो । जसको प्रयोगबाट कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनुका साथै यातायात कार्यालयहरूमा सेवा लिन कुन दिन कतिबजे पुग्ने भनी समय निर्धारण गर्छ र कार्यालयहरूमा हुने अनावश्यक भीडभाड कम गरी सुरक्षित रुपमा सेवा प्रदान गर्नका लागि बनाइएको एक प्रकारको इलेक्ट्रोनिक पास सिस्टम हो ।
इ–पास कसरी प्राप्त गर्न सकिन्छ ?
भौतिक पुर्वाधार विकास मन्रालयबाट जारी गरेको https://visittmo.bagamati.gov.np वेबसाइट मा जानुहोस । आफुले चाहेको यातायात व्यवस्था कार्यालय, लिन चाहेको सेवा, सेवा लिने मिति लगायत अन्य सम्पूर्ण विवरणहरु छनौट गरी पासको लागी अनुरोध गर्नुहोस् । तपाईँले अनुरोध गरिसकेपछि तपाइँको मोबाइलमा प्रमाणिकरण कोड प्राप्त हुनेछ । उक्त कोड प्रमाणिकरण बक्समा प्रविष्टि गरिसकेपछि तपाइको मोबाइलमा इ–पास प्राप्त हुनेछ र सोही पास लिई सेवा लिनकोलागि सम्बन्धित कार्यालयमा जानुपर्नेछ ।
इ–पास विना यातायात कार्यालय जान पाईन्छ कि पाईदैन ?
इ–पास विना यातायात कार्यालय जान हुन्न । यातायात कार्यालय गए अरुलाई उपलब्ध गराएको समयमा तपाईको काम नहुने भएकाले सेवा प्रवाहमा समस्या हुन सक्दछ ।
इ–पास अरुलाई दिन पाईन्छ कि पाईदैन ?
सेवा लिन चाहेको सम्बन्धित व्यक्तिले मात्रै इ–पासको अनुरोध गर्नु पर्दछ । उक्त पास सम्बन्धित व्यक्तिले मात्रै प्रयोग गर्न सक्दछ । इ–पास लिईसकेपछि अर्को व्यक्तिलाई दिन या अर्को व्यक्तिलाई साट्न तथा सार्नका लागि निषेध गरिएको छ ।
एकपटक इ–पास लिईसकेपछि कति दिनसम्म सेवा लिन सकिन्छ ?
एकपटक इ–पास लिईसकेपछि सोही एक दिनलाई मात्र इ–पासले काम गर्दछ । सम्बन्धित काम एक दिनमा नसकिएको खण्डमा उक्त कामको निमित्त दोस्रो दिनको लागि पनि सोही पासको प्रयोग हुनेछ तर काम सम्पन्न नभएको जानकारी कार्यालयमा गराइ अर्को दिनको लागि ट्रान्सफर गर्नुपर्छ ।
एक पटक इ–पास लिईसकेपछि कति दिनपछि मात्र अर्को इ–पास लिन पाइन्छ ?
एक पटक इ–पास लिईसकेपछि 1 दिनपछि मात्र अर्को इ–पास लिन पाइन्छ ।
बिना परिचय-पत्र यातायात कार्यालय प्रवेश गर्न पाईन्छ कि पाईदैन ?
पासमा भरिए बमोजिमको परिचय-पत्र बिना यातायात कार्यालय प्रवेश गर्न निषेध गरिएको छ । यदि परिचय-पत्र देखाउन नसकेमा या परिचय पुष्टि नभएका खण्डमा यातायात कार्यालय प्रवेश गर्न पाइने छैन ।
इ–पास कतिखेर खुल्छ र बन्द हुन्छ ?
प्रत्येक दिनको इ–पास 15 दिन अघि मध्यरात १२ बजेबाट खुल्छ र अघिल्लो दिनको मध्यरात १२ बजे बन्द हुन्छ ।
इ–पास रद्द गर्नुपर्ने भए के गर्नुपर्दछ ?
एकपटक इ–पास लिईसकेपछि पास रद्द गर्नुपर्ने भएमा तपाईंले तल दिइएका नम्बरहरुमा सम्बन्धित कार्यालयलाई फोन गरेर जानकारी गराउनु पर्दछ । सम्पर्क नम्बर: ०५७-५२६१५८
यातायात कार्यालयले कतिवटा इ–पास जारी गर्छ भन्ने कुरा कसरी हेर्न र थाहा पाउन सकिन्छ ?
प्रत्येक कार्यालयका लागि प्रत्येक सेवाका निमित्त भएका सम्पूर्ण कोटाहरुलाई वेवसाइटमा नै राखिएको छ । साइट खोलेर कोटा भित्र गएर सम्पूर्ण सेवाका निमित्त छुट्टाएका कोटा तपाईं आफैले हेर्न सक्नुहुनेछ ।
इ–पास लिएर यातायात कार्यालय गईसकेपछि अरु के के काम गर्नुपर्दछ ?
इ–पास लिएर यातायात कार्यलय गइसकेपछि तोकिएको ठाउँमा तोकेको सेवाका लागि जानुपर्दछ । आफ्नो सम्पूर्ण काम सकिइसकेपछि कार्यालयबाट निस्कने बेलामा तपाईंको कार्य सम्पन्न भएका खण्डमा कार्य सम्पन्न भएको र काम बाँकी भएको खण्डमा सोही विवरण सम्बन्धित कर्मचारीलाई जानकारी गराउनु पर्दछ ।
इ–पास सिस्टमले सेवाग्राहीको समय बचत कसरी गर्दछ ?
इ–पास सिस्टममानै तपाइ कार्यालयमा पुग्नुपर्ने समय उल्लेख हुने हुनाले तपाइ सोही समयमा पुग्नेगरी कार्यालय गए हुन्छ । अनावश्यक रुपमा बिहानै गएर घण्टौंसम्म लाइनमा बस्नुपर्ने झन्झटबाट हामीले तुरुन्त छुटकारा पाउनुहुन्छ । त्यस्तै गरी प्रत्येक सेवाका लागि सिमित समय तोकेको कारणले गर्दा सेवाग्राहीको समय बचत हुनुका साथै सेवा प्रवाहका लागि कार्यालयका कर्मचारीलाई पनि सहजता प्रदान गर्दछ ।